कञ्चनपुर। अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तहहरूले विद्यालयमा बिदा दिएका छन्।

बेदकोट नगरपालिकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मङ्गलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताएका छन् । 

यस्तै भीमदत्त नगरपालिका ले पनि गर्मी र वर्षे बिदा समायोजन गर्दै असार ८ देखि १९ गतेसम्म विद्यालयमा बिदा घोषणा गरेको छ। पछिल्लो एक सातादेखि कञ्चनपुरसहित तराईका जिल्लामा गर्मी अत्यधिक बढेको छ। मौसमविद्हरूले आगामी केही दिन तातो लहरको जोखिम कायम रहने चेतावनी दिएका छन्।

बढ्दो तापक्रमले विद्यार्थी प्रभावित हुन थालेपछि स्थानीय तहहरू विद्यालय बन्द गर्न बाध्य भएका हुन्।