काठमाडौं । जोय फाउन्डेसन नेपाल र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३४७० ताइवानबीच सामाजिक तथा मानवीय क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित सम्झौता भएको छ ।

सोमबार ठमेलमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति भएको हो । जोय फाउन्डेसन नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले संस्थाले विगत करिब तीन दशकदेखि स्वास्थ्य र शिक्षाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जानकारी दिए । उनले समाजका पिछडिएका, असहाय तथा निमुखा समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।

श्रेष्ठका अनुसार फाउन्डेसनले तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा दुर्गम गाउँहरूमा नियमित रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष एकदेखि दुई वटा मोतिबिन्दु उपचारसम्बन्धी शिविर सञ्चालन गर्दै प्राविधिक सहयोगसहित सेवा प्रदान गरिँदै आएको उनले बताए । त्यसैगरी, बाढी, पहिरो तथा महाभूकम्पजस्ता प्राकृतिक विपद्का समयमा पनि संस्थाले राहत सामग्री वितरण गर्दै सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे ।

यसैबीच, फर्पिङस्थित नारी कल्याण सेवा समाज र वैदिक सेवा समाजमा आश्रित बालबालिकाको सहयोगका लागि विदेशी दातामार्फत ३० लाख रुपैयाँ सहयोग गरिएको पनि जानकारी दिइएको छ । उक्त रकम बालबालिकाको एक वर्षसम्मको खाद्यान्न तथा आवास व्यवस्थापनमा खर्च गरिने बताइएको छ ।