काठमाडौं । मुलुकको शिक्षा क्षेत्रका विद्यमान मुद्दाहरूलाई सञ्चार माध्यममार्फत उजागर गर्न र राज्यलाई उत्तरदायी बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था शिक्षा पत्रकार समूह ईजेजीले सोमबार राजधानीमा आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागी तथा विज्ञहरूले सो कुरामा जोड दिएको समूहका अध्यक्ष निर्जला कक्ष पतिले बताइन् । शिक्षा क्षेत्रका गहन मुद्दाहरूलाई सतहमा ल्याई गुणस्तरीय शिक्षाको सबलीकरणका लागि राज्यलाई निरन्तर घचघच्याइने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार एवं शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा जोड दिए । 

यस्तै, अर्का प्रशिक्षक एवं शिक्षाकर्मी तथा शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यक्रम संयोजक टिका भट्टराईले शिक्षा नीति, यसका कमजोरी र स्थानीय तहले शिक्षामा गरिरहेका अभ्यासहरूका विषयमा सञ्चारकर्मीहरूले गहिरो अध्ययन गर्नुपर्ने औँल्याए । वास्तविक धरातलमा पुगेर गरिने पत्रकारिताले मात्रै राज्यको ध्यानाकर्षण गराउन सक्ने उनले विश्वास व्यक्त गरे । एक दिने अभिमुखीकरण कार्यक्रममा विद्यालय शिक्षा, बजेट विनियोजन, र दुर्गम क्षेत्रका शैक्षिक समस्याहरूलाई कसरी मुख्य समाचारको विषय बनाउने, नीति निर्माण र कार्यान्वयनको खाडललाई उजागर गर्दै राज्यका निकायहरूलाई घचघच्याइने, पूर्वाधार विकाससँगै शिक्षण सिकाइको गुणस्तर सुधारका लागि बहस पैरवी सिर्जना गर्ने सवालमा जोड दिइएको थियो । 

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत शिक्षा क्षेत्र हेर्ने ३५ बढी पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस किसिमको अभिमुखीकरणले आगामी दिनमा खोजमूलक र प्रभावकारी शैक्षिक समाचारहरू पस्कन थप ऊर्जा र स्पष्टता मिलेको बताएका छन् ।