काठमाडौं। नेपालको निजी शिक्षा क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा उभिएको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण–२०८१’ अनुसार निजी, सामुदायिक तथा गुठीअन्तर्गत सञ्चालित शिक्षण संस्थामा कुल ३ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ।
सर्वेक्षणले निजी शिक्षण संस्थाले वार्षिक १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको शैक्षिक सेवा उत्पादन गरेको र अर्थतन्त्रमा १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको योगदान पुर्याएको देखाएको छ।
देशभर १० हजार ४११ निजी शिक्षण संस्थामा ३७ लाख ५० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यिनै संस्थाबाट ३ लाख ११ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्, जसमध्ये २ लाख २१ हजारभन्दा बढी शिक्षक रहेका छन्।
निजी शिक्षण संस्थाहरूले शिक्षक तथा कर्मचारीको तलब, भत्ता र सुविधामा मात्रै वार्षिक ७५ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेका छन्। सर्वेक्षणअनुसार निजी शिक्षण संस्थाको औसत मासिक शुल्क ३ हजार ३ सय रुपैयाँ रहेको छ।
तथ्यांकले निजी शिक्षा क्षेत्र अब केवल अध्ययन–अध्यापनमा सीमित नरही लगानी, रोजगारी र आर्थिक गतिविधिको ठूलो केन्द्रका रूपमा विकास भइरहेको देखाएको छ।






































