चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको प्रतिस्पर्धा मतदानअघि नै रोचक मोडमा पुगेको छ। महामन्त्रीका उम्मेदवार जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै खरेलले पार्टीले अझै लामो राजनीतिक यात्रा तय गर्न बाँकी रहेकाले व्यक्तिगत प्रतिस्पर्धाभन्दा संगठनको एकता महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। नेताहरूको सल्लाह र सहमतिलाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ।

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका खरेलले महामन्त्री पदका लागि दाबी प्रस्तुत गरेका थिए। तर अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्रीको चुनावी प्रतिस्पर्धाको समीकरण पनि परिवर्तन भएको छ।

रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत आज पाँच पदाधिकारी पदका लागि मतदान भइरहेको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने उपसभापतितर्फ स्वर्णिम वाग्ले पनि निर्विरोध चयन भएका छन्। बाँकी पदहरूको नेतृत्व भने प्रतिनिधिहरूको मतदानबाट टुंगो लाग्नेछ।

खरेलको उम्मेदवारी फिर्तालाई पार्टीभित्र सहमतिको प्रयास र नेतृत्व चयनलाई थप सहज बनाउने कदमका रूपमा हेरिएको छ।