काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै प्रचण्डले कुनै पनि विचार वा नीति सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको मूल्याङ्कन र विकास आवश्यक हुने धारणा राखे । उनले भने,‘तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका निार्वह गर्नुभएको छ । प्रचण्डले २०७४ सालको निर्वाचनअघि यही हलबाट तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कार्यगत एकता र पछि पार्टी एकताको घोषणा गरिएको स्मरण गर्दै अहिले पनि दुई पार्टीका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको बताए ।
उनले भने,‘७४ सालको निर्वाचन आउँदै थियो, हामीले यही हलमा कार्यगत एकता र निर्वाचनमा सहकार्यको घोषणा गरेका थियौँ। त्यहीँबाट पार्टी एकतामा जाने उद्घोष पनि गरेका थियौँ। आज फेरि यही हलमा हामी तिनै दुई पार्टीका नेताहरू मात्रै छौं ।’ उनले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठनको घोषणा मदन भण्डारीको स्मृतिदिवस जेठ ३ गते नै गरिएको उल्लेख गर्दै त्यसको विशेष राजनीतिक र वैचारिक अर्थ रहेको बताए। प्रचण्डले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासनहरू पतन भएको कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे।
‘नेपालजस्तो देशमा कम्युनिस्ट आन्दोलनलाई जीवन्त राख्न, परिस्थितिको गम्भीरता र संवेदनशीलतालाई बुझेर नै कमरेड मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको कार्यक्रम प्रस्तुत गरिएको हो। त्यसको ऐतिहासिकता र महत्त्व त्यसैमा छ,’ उनले भने । प्रचण्डले इतिहासलाई समय र परिस्थितिको सन्दर्भमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै कुनैपनि नीति वा विचारलाई स्थायी सत्यका रूपमा लिन नहुने बताए । ‘सबै कुरा सर्वकालिक हुँदैनन्। ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको जीवित आत्मा हो। सबै सत्यहरू सापेक्षिक छन्, निरपेक्ष केही पनि छैन,’ उनले भने।
उनले माक्र्सवादी दर्शनले परिवर्तनलाई नै स्थायी सत्यका रूपमा स्वीकार गर्ने भएकाले समयको मागअनुसार नीति, सिद्धान्त र कार्यदिशाको विकास गर्नुपर्नेमा जोड दिए।





































