काठमाडौं— सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले आफ्नै सवारीबाट शुरूआत गरेका छन् ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले आफूले प्रयोग गर्ने सरकारी गाडीमा जडान गरिएको कालो सिसासमेत तत्काल हटाउन निर्देशन दिएका हुन् । त्यससँगै ट्राफिक प्रहरीलाई पनि अभियानलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउन आग्रह गरेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले लगायतका अधिकृतसँग छलफल गर्दै मन्त्री गुरुङले कानून सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका थिए । उनले सरकारी वा निजी जुनसुकै सवारी भए पनि नियमविपरीत जडान गरिएका कालो सिसा हटाउन कुनै सम्झौता नगर्न निर्देशन दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले असार १४ गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा राखिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेको छ । पहिलो चरणमा सिसामा टाँसिएका काला स्टिकर हटाइँदैछन्।

उता, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा ट्राफिक प्रहरीले सोमबार गाडी बिक्रेता कम्पनीका प्रतिनिधिसँग पनि छलफल गरेको छ ।