काठमाडौं— नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै सुस्ताका बासिन्दाले माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले सुस्ताको माटो बोकेर सरकारको ध्यानाकर्षण गराउँदै भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्न माग गरेका छन्।
प्रदर्शनकारीले आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा र तत्काल नेपाली नागरिकता उपलब्ध गराउन पनि माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सीमासम्बन्धी अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दबाब र दुर्व्यवहार भोग्नुपरेको उनीहरूको आरोप छ।
‘सुस्ता बचाउ अभियान’को आह्वानमा सुरु गरिएको आन्दोलनका क्रममा प्रधानमन्त्रीको सचिवालयमा पटक–पटक समय माग्दा पनि सुनुवाइ नभएको उनीहरूले गुनासो गरेका छन्।






































