काठमाडौं— शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को एकेडेमिक काउन्सिलमा विभिन्न क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।

मन्त्रालयले सूचना प्रविधि तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्य नियुक्त गरेको जनाएको छ।

सीटीइभीटीको एकेडेमिक काउन्सिललाई परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकायका रूपमा लिइन्छ। काउन्सिलले पाठ्यक्रम निर्माण तथा परिमार्जन, नयाँ शैक्षिक कार्यक्रम स्वीकृत गर्ने, शैक्षिक गुणस्तर सुनिश्चित गर्ने, मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउने तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देश तय गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ।

मन्त्रालयले विभिन्न क्षेत्रका अनुभवी विज्ञहरूको सहभागिताले प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुधार, उद्योगसँगको सहकार्य विस्तार र समयअनुकूल पाठ्यक्रम विकासमा थप योगदान पुग्ने अपेक्षा गरेको छ।