दुबई— इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रमको तयारी तीव्र भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी सार्वजनिक भएका छन्।
इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिर र भिडियोमा वाहिदी अन्त्येष्टिसम्बन्धी बैठक तथा तेहरानमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी भएको देखिएका छन्। युद्ध सुरु हुनुअघि फेब्रुअरी ८ यता उनी सार्वजनिक रूपमा नदेखिएकाले उनको उपस्थितिलाई विशेष अर्थका साथ हेरिएको छ।
विश्लेषकहरूका अनुसार अमेरिकासँग हुन सक्ने सम्भावित वार्तामा इरानको रणनीति तय गर्न वाहिदी प्रभावशाली भूमिकामा छन्। उनलाई नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहने सीमित समूहका प्रमुख सदस्यका रूपमा समेत हेरिन्छ।
तेहरानस्थित हुसिनियाह परिसरमा राखिएको खामेनीको कफिन रातो ट्युलिपले सजाइएको थियो त्यसमाथि ‘या हुसेन’ अंकित रातो झण्डा ओढाइएको थियो जसलाई शिया समुदायमा बलिदान र प्रतिशोधको प्रतीक मानिन्छ।
इरानले शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रममा खामेनीको पार्थिव शरीर इरान र इराकका विभिन्न सहरमा लगिने जनाएको छ। तेहरानको ग्रान्ड मोसल्लाबाट सुरु हुने अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ।






































