काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धान अघि बढाएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उनलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
विभागका अनुसार डडेलधुराको साविक आसिग्राम गाविस–५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीरलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम बयानका लागि बोलाइएको हो। विभागले लामो समयदेखि जयवीरको नाममा रहेका विभिन्न व्यावसायिक कम्पनी, ती कम्पनीमा भएको लगानीको स्रोत तथा शंकास्पद आर्थिक कारोबारबारे सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा विवादास्पद व्यवसायी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध पनि विभागको निगरानीमा परेको स्रोतको दाबी छ। भट्ट र उनका साझेदार सुलभ अग्रवाल हाल पुर्पक्षका लागि थुनामा छन्।
विभागले यसअघि पनि जयवीरसँग सम्पर्क गर्ने प्रयास गरेको तर उनी विदेशमा रहेका कारण सम्पर्क हुन नसकेपछि सार्वजनिक सूचना जारी गर्नुपरेको जनाएको छ। तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि विभागले दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा बयानका लागि बोलाउँदा उपस्थित नहुनुलाई अनुसन्धानमा असहयोग मानेर थप कानुनी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ।
यसअघि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
त्यसैगरी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धान भइरहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा अदालतबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल विदेशमा रहेकाले उनीहरूलाई पक्राउ गर्न सकिएको छैन। स्वास्थ्य उपचारका लागि उनीहरू सिंगापुर गएको र त्यहाँबाट हङकङतर्फ गएको जानकारी सार्वजनिक भएको छ।
यसअघि देउवा निवासमा भएको घटनापछि सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो। विभागको पत्राचारपछि अहिले उक्त प्रकरणको थप अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अघि बढाइरहेको स्रोतले जनाएको छ।






































