एजेन्सी— इन्डोनेसियाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘बिन्टाङ आदिपूर्ण’ले सम्मान गरेको छ। भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएको हो।
पोस्टमा लेखिएको छ, ‘आज बिहान मलाई इन्डोनेसियाको सर्वोच्च सम्मान पनि ठुलो स्नेहका साथ प्रदान गरिएको छ। यो सम्मान लाखौँ भारतीयहरूको हो, इन्डोनेसियाका जनताको भावना हो, अनि भारत र इन्डोनेसियाबिचको ऐतिहासिक र सौहार्दपूर्ण सम्बन्धको हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसियाली सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
मोदी तीन-राष्ट्र भ्रमणअन्तर्गत पहिलो चरणमा सोमबार इन्डोनेसिया पुगेका हुन्। भारत सरकारका अनुसार यो भ्रमणको उद्देश्य भारतको पूर्व नीति र महासागर दृष्टिकोणलाई अझ बलियो बनाउनु तथा स्वतन्त्र, खुला र समावेशी इन्डो-प्रशान्त क्षेत्रका लागि भारतको प्रतिबद्धतालाई अगाडि बढाउनु हो।






































