काडमाडौं। प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर राजनीतिक दबाब झन् बढेको छ। यसपटक विपक्षी नेकपाले प्रधानमन्त्रीमाथि मात्रै होइन, उनलाई नेतृत्वमा पुर्याएको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि पनि प्रश्न उठाएको छ। संसद्मै नेकपाले अब आफ्नै प्रधानमन्त्रीलाई संसद् र संविधानप्रति जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गर्नुपर्ने चेतावनी दिएको छ।
प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर जारी विवादका बीच प्रतिनिधिसभामा नेकपाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नै नेतृत्वमाथि जिम्मेवारी बहन गर्न आग्रह गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्रीलाई संसद् र संविधानप्रति उत्तरदायी बनाउने जिम्मेवारी अब रास्वपाकै काँधमा आएको बताए।
जसले उहाँलाई यो संसद्को दलको नेता बनाउनुभयो र प्रधानमन्त्री बन्नुभयो, अब राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गर्ने दिन आएको छ। हामी रास्वपाबाट त्यो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह भएको हेर्न चाहन्छौँ।
तामाङले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर उठेका प्रश्नको जवाफ दिन वातावरण बनाउन सभामुखको पनि विशेष भूमिका रहेको बताए। संसद्को गरिमा जोगाउन प्रधानमन्त्रीलाई सदनमा बोलाउने गरी रुलिङ गर्न उनले सभामुखसँग मागसमेत गरे। संसद्को गरिमा र इज्जत जोगाउने जिम्मा सभामुखको पनि हो। प्रधानमन्त्रीलाई सदनमा बोलाउने रुलिङ गर्नुपर्छ।
प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर दबाब बढाइरहेका बेला नेकपाले भने यो मुद्दालाई रास्वपाको आन्तरिक जिम्मेवारीसँग जोड्दै नयाँ राजनीतिक बहस अघि सारेको छ। यसले सत्ता गठबन्धनभित्र समेत नैतिक दबाब बढाउने विश्लेषण भइरहेको छ।
प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउने विषय अब विपक्षीको मागमा मात्र सीमित छैन। उनलाई नेतृत्वमा पुर्याएको दलले नै कस्तो भूमिका खेल्छ भन्ने प्रश्न पनि सँगसँगै उठ्न थालेको छ।






































