काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानमाथिको अमेरिकी कारबाहीबीच नाटो सदस्य राष्ट्रका नेताहरू अङ्कारामा भेला भएका छन्। सम्मेलनमा रक्षा खर्च, युक्रेन युद्ध र अमेरिकाको सुरक्षा नीति मुख्य एजेन्डा बनेका छन्।
मध्यपूर्वको अस्थिर अवस्थाबीच सुरु भएको नाटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन फेरि दबाब दिएका छन्।
नाटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता कायम रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले आफ्नो सुरक्षा दायित्व बढाउनुपर्ने बताएका छन्।सम्मेलनमा युक्रेन युद्ध, इरान संकट, टर्कीसँगको रक्षा सहकार्य र नयाँ हतियार खरिद सम्झौतामाथि पनि छलफल भइरहेको छ। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संवाद गर्ने योजना रहेको बताएका छन्।
विश्व सुरक्षा चुनौती झन् जटिल बन्दै गएका बेला सुरु भएको नाटो शिखर सम्मेलनका निर्णयले युक्रेन युद्ध, मध्यपूर्व संकट र विश्व सुरक्षाको आगामी दिशामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।






































