काठमाडौं । आर्थिक गतिविधि सुस्ताएको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका शीर्ष व्यवसायीसँग प्रत्यक्ष छलफल गर्दै लगानी, उद्योग र रोजगारी बढाउन देखिएका नीतिगत तथा प्रशासनिक अवरोध हटाउने प्रतिबद्धता जनाएका छन्।
सुस्त बन्दै गएको अर्थतन्त्रलाई गति दिन सरकार र निजी क्षेत्रबीच उच्चस्तरीय संवाद सुरु भएको छ। यही क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी–व्यवसायीका प्रमुख प्रतिनिधिसँग छलफल गर्दै उद्योग र लगानीमैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले उद्योग सञ्चालनमा देखिएका नीतिगत, कानुनी र प्रशासनिक जटिलता हटाउन सरकार तयार रहेको बताए। उत्पादन वृद्धि, रोजगारी विस्तार र निजी क्षेत्रको मनोबल उकास्न आवश्यक सुधारलाई तत्काल अघि बढाइने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले मुलुकको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रलाई सरकारको रणनीतिक साझेदारका रूपमा उल्लेख गर्दै प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा उद्योगी–व्यवसायीहरूले लगानीमैत्री नीति, कानुनी स्थिरता, सहज सेवा प्रवाह, प्रशासनिक सुधार तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकता औँल्याएका थिए।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका शीर्ष पदाधिकारीहरूको सहभागिता रहेको थियो। सरकारले यो संवादलाई आर्थिक सुधार र निजी क्षेत्रमैत्री नीतिनिर्माणको आधार बनाउने विश्वास व्यक्त गरेको छ।






































