काठमाडौं । संविधान संशोधनबारे लामो समयदेखि जारी राजनीतिक बहसका बीच नेपाली कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ। विज्ञ समितिको अध्ययन र सुझावका आधारमा पार्टीले संशोधनका प्राथमिकता सार्वजनिक गर्न लागेको हो।
संविधान संशोधनको विषयलाई औपचारिक रूपमा अघि बढाउँदै नेपाली कांग्रेसले बिहीबार आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा सभापति गगन थापाको उपस्थितिमा संविधान संशोधन अध्ययन तथा सुझाव समितिले तयार पारेको अवधारणा प्रस्तुत गरिनेछ।
उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ समितिले विभिन्न संवैधानिक, कानुनी र संस्थागत विषयमा अध्ययन गरी सुझाव तयार पारेको छ। समितिमा वरिष्ठ अधिवक्ता तथा कानुनविद्हरूको सहभागिता रहेको छ।
संविधान संशोधनको विषय राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा रहेका बेला कांग्रेसले सार्वजनिक गर्न लागेको धारणालाई आगामी संवैधानिक एजेन्डाको आधार दस्तावेजका रूपमा हेरिएको छ।






































