काठमाडौं। नेपाल–भारत संसदीय सम्बन्धलाई थप मजबुत बनाउने प्रयासस्वरूप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेका छन्। भेटमा दुवै देशबीच संसदीय कूटनीति, उच्चस्तरीय भ्रमण र प्रविधिमैत्री संसद् प्रणाली विस्तारमा जोड दिइएको छ।
भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्याललाई भारत भ्रमणको औपचारिक निम्तो दिएका छन्। भेटका क्रममा सभामुख अर्यालले पनि भारतका लोकसभा सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।
भेटवार्तामा नेपाल–भारतबीच व्यापार, ऊर्जा, कनेक्टिभिटी, नागरिक उड्डयन, रेल तथा बस सेवा विस्तारसँगै संसदीय सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। सभामुख अर्यालले भारतको डिजिटल संसद् प्रणाली र कागजरहित संसदीय अभ्यासबाट नेपालले अनुभव आदानप्रदान गर्न चाहेको बताएका छन्।
राजदूत श्रीवास्तवले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै भारत सरकार सहकार्य विस्तारमा प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल–भारत सम्बन्धलाई संसदीय कूटनीतिमार्फत नयाँ उचाइमा पुर्याउने संकेतसहित दुवै देशका सभामुखबीच भ्रमण आदान–प्रदानको तयारी अघि बढेको छ।






































