काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पतालको नाम वा बोर्ड परिवर्तनले मात्र स्वास्थ्य क्षेत्रमा सुधार नआउने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन नीति, सुशासन र प्रभावकारी कार्यान्वयन बिना नागरिकले गुणस्तरीय सेवा र सस्तो औषधि नपाउने बताएका हुन्।
पौडेलले आफू स्वास्थ्यमन्त्री हुँदा देशभर औषधिको समान मूल्य निर्धारण, सेन्ट्रल बिडिङ प्रणाली, जेनेरिक औषधिको मूल्य निर्धारण तथा औषधि नियमनसम्बन्धी कानुनी तयारी अघि बढाइएको दाबी गरे।
उनले अहिले प्रतीकात्मक कामभन्दा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने स्वास्थ्य सुधारमा सरकार केन्द्रित हुनुपर्ने भन्दै स्वास्थ्य क्षेत्रका नीतिगत सुधारलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।





































