काठमाडौं। मध्यपूर्वमा तनाव अब इजरायल वा अमेरिकी सैन्य उपस्थितिसम्म सीमित रहेन। इरानले ओमान, बहराइन र जोर्डनलाई लक्षित गर्दै एकैसाथ सैन्य कारबाही गरेको दाबी गरेपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। अमेरिकी सैन्य अड्डा, रणनीतिक बन्दरगाह र हवाई अड्डालाई निशाना बनाइएको दाबीबीच विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यको सुरक्षामाथि पनि नयाँ चिन्ता थपिएको छ।
इरानले पछिल्लो सैन्य अभियानमा ओमान, बहराइन र जोर्डनलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ। इरानी रिभोलुसनरी गार्डका अनुसार ओमानको दुक्म बन्दरगाह नजिक अमेरिकी सैन्य लजिस्टिक केन्द्र, बहराइनस्थित अमेरिकी सैन्य अड्डा र जोर्डनको प्रिन्स हसन एयरबेस मुख्य निशानामा परेका थिए।
यद्यपि, सम्बन्धित देशहरूले इरानका सबै दाबी पुष्टि गरेका छैनन्। ओमानले आफ्नो भूमिमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ भने जोर्डनले केही मिसाइल आफ्नो भूमिमा खसेको तर ठूलो मानवीय क्षति नभएको जनाएको छ। बहराइनमा भने अमेरिकी सैन्य अड्डा आसपास धुवाँ देखिएको भिडियो सार्वजनिक भएको छ। यससँगै मिसाइल सतर्कता जारी गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। अमेरिकी पक्षबाट भने घटनाबारे विस्तृत आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
यो आक्रमणको सबैभन्दा संवेदनशील पक्ष हो-होर्मुज जलडमरू। विश्वमा निर्यात हुने करिब २० प्रतिशत कच्चा तेल र २० प्रतिशत एलएनजी यही समुद्री मार्गबाट विश्व बजारमा पुग्छ। यदि यहाँको सुरक्षा अवस्था थप बिग्रियो भने यसको असर केवल मध्यपूर्वमा सीमित रहने छैन। तेलको मूल्य, अन्तर्राष्ट्रिय व्यापार, ढुवानी लागत र विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्न सक्ने विश्लेषण भइरहेको छ।
यसैबीच इरानले होर्मुज जलडमरूमध्यको व्यवस्थापन र जहाज आवतजावतसम्बन्धी निर्णय इरान र ओमानबीचको समन्वयमा मात्रै हुनुपर्ने अडान दोहोर्याएको छ। यसले रणनीतिक समुद्री मार्गमाथिको प्रभाव बढाउने इरानको प्रयासका रूपमा पनि हेरिएको छ।
इरानले एकैपटक तीन देशमा सैन्य कारबाहीको दाबी गर्नु केवल सुरक्षा घटनामात्र होइन, यो मध्यपूर्वको शक्ति सन्तुलनलाई नयाँ मोडमा पुर्याउने संकेत पनि हुन सक्छ। यदि प्रतिकार र प्रत्याक्रमणको शृंखला अघि बढ्यो भने त्यसको प्रभाव युद्धक्षेत्रभन्दा बाहिर विश्व ऊर्जा बजार, कूटनीति र अन्तर्राष्ट्रिय सुरक्षासम्म फैलिन सक्छ।
इरानका दाबी, सम्बन्धित देशहरूको प्रतिक्रिया र अमेरिकी कदम अब यो संकटको दिशा तय गर्ने मुख्य आधार बन्नेछन्। अहिलेका लागि मध्यपूर्व फेरि एकपटक विश्वको सबैभन्दा संवेदनशील सामरिक केन्द्र बनेको छ, जहाँ प्रत्येक सैन्य गतिविधिले विश्व राजनीति र अर्थतन्त्रमा दूरगामी प्रभाव पार्न सक्ने अवस्था देखिएको छ।





































