काठमाडौं । संघीय संसद्को बजेट अधिवेशनले १० वटा विधेयकलाई कानुनको रूप दिएको छ। वैशाख २८ देखि असार २६ सम्म चलेको अधिवेशनमा बजेट, निर्वाचन, सहकारी, मनि लाउन्डरिङदेखि सार्वजनिक खरिदसम्मका महत्वपूर्ण कानुन पारित भएका हुन्।
संसद् सचिवालयका अनुसार यस अवधिमा ३ बजेटसम्बन्धी विधेयक, ६ अध्यादेश प्रतिस्थापन विधेयक र १ नियमित विधेयक पारित भएका छन्। यीमध्ये स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहकारी, सम्पत्ति शुद्धीकरण, सार्वजनिक खरिद, मतदाता नामावली, प्रतिनिधिसभा निर्वाचन, राष्ट्र ऋण, विनियोजन र आर्थिक विधेयक प्रमुख छन्।
यसैबीच, महत्त्वपूर्ण विधेयकको अभाव देखाउँदै सरकारले अब संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ।





































