काठमाडौं। कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि सरकारमाथि चर्को आलोचना भइरहेका बेला भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई कानुनी रूपमा बलियो र भविष्यमा विवाद नउठ्ने गरी लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएकी छन्।

खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेर मन्त्री रावलले सुकुम्बासीको जग्गा व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले हतारमा निर्णय गरेर भविष्यमा विवाद सिर्जना हुने अवस्था नआओस् भन्ने उद्देश्यले सबै कानुनी प्रक्रिया पूरा गरेर मात्रै लालपुर्जा वितरण गरिने स्पष्ट पारिन्।

उनका अनुसार सरकारले सुकुम्बासीको पहिचानसँगै उपलब्ध गराइने जग्गाको कानुनी अवस्था, सीमाङ्कन र स्वामित्वको समेत विस्तृत अध्ययन गरिरहेको छ। त्यसैले निश्चित मिति तोक्न नसके पनि लालपुर्जा वितरणको प्रक्रिया तीव्र रूपमा अघि बढाइएको उनको भनाइ छ।

मन्त्री रावलले “आज दिएको लालपुर्जामाथि भोलि कसैले प्रश्न उठाउन नसकोस्, पुस्तौँसम्म सुरक्षित रहने गरी काम गरिरहेका छौँ,” भन्दै सरकारले दिगो समाधान खोजिरहेको बताइन्।

शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेर विस्थापित सुकुम्बासी प्रभावित भएपछि सरकारको व्यापक आलोचना भएको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिलामन्त्री सीता वादीसहितको टोलीले खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेर प्रभावित परिवारसँग भेटघाट तथा अवस्थाबारे जानकारी लिएको थियो।

सरकारले तत्काल राहतसँगै दीर्घकालीन रूपमा सुकुम्बासी समस्या समाधान गर्ने योजना अघि बढाइरहेको जनाएको छ।