काठमाडौं— थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी ६० जना भन्दा बढी घाइते भएका बीबीसीले जनाएको हो । केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मध्यरातमा थाईल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा आगलागी भएको हो ।
दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ ।
स्थानीय सञ्चारमाध्यमहरुले ज्यान गुमाउनेमा १८ महिला र ९ जना पुरुष रहेको जनाएका हुन् । थाई अधिकारीहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ।






































