काठमाडौं। अमेरिका र इरानबीचको सैन्य तनाव नयाँ चरणमा पुगेको छ। सोमबार बिहान अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा करिब तीन घन्टासम्म लगातार आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै जवाफी कारबाही गरेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार सोमबार बिहान गरिएको कारबाहीमा लडाकु विमान, युद्धपोत, आक्रमणकारी ड्रोन तथा पहिलो पटक समुद्री ड्रोनसमेत प्रयोग गरिएको थियो। आक्रमणको मुख्य उद्देश्य इरानको हवाई प्रतिरक्षा प्रणाली, मिसाइल र ड्रोन क्षमता तथा तटीय सैन्य संरचनालाई कमजोर बनाउनु रहेको अमेरिकी पक्षको दाबी छ।
यसको केही समयपछि इरानले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाउँदै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। विशेषगरी बहराइनस्थित अमेरिकी फिफ्थ फ्लिटसँग सम्बन्धित सैन्य संरचनालाई निशाना बनाइएको इरानी पक्षको दाबी छ।
आक्रमणपछि बहराइन र कुवेतमा साइरन बजाइएपछि स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। तत्काल ठूलो क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भएको छैन।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी हेलिकोप्टर मर्मत केन्द्र, गस्ती विमान राखिएको ह्याङ्गर र ड्रोन नियन्त्रण केन्द्रमा प्रहार गरिएको दाबी गर्दै आवश्यक परे थप जवाफी कारबाही जारी रहने चेतावनी दिएको छ।
यता इरानको विदेश मन्त्रालयले अमेरिकी हमलालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन र युद्ध अपराधको संज्ञा दिएको छ। अमेरिकालाई सहयोग गर्ने कुनै पनि देशलाई पनि निशानामा पार्न सकिने चेतावनी इरानले दिएको छ।
दुवै देशबीचको बढ्दो तनावले विश्व बजारमा पनि प्रभाव पारेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने पर्सियन खाडी हुँदै हुने समुद्री यातायातको सुरक्षाबारे पनि चिन्ता बढेको छ।
स्ट्रेट अफ हर्मुज क्षेत्रलाई केन्द्र बनाएर सुरु भएको विवाद अहिले प्रत्यक्ष सैन्य भिडन्तमा परिणत भएको छ। अवस्था थप जटिल बन्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र युद्ध थप नचर्काउन दुवै पक्षसँग आग्रह गरिरहेको छ।






































