काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बढ्दो सामाजिक निराशा, आत्मदाहका घटना र सुकुम्बासीको अवस्थाप्रति सरकार संवेदनशील बन्नुपर्ने बताएका छन्। सरकार सिंहदरबार र संसद्मा मात्र होइन, समस्यामा परेका नागरिकको बीचमा पनि उपस्थित हुनुपर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा शर्माले गणेश नेपालीको आत्मदाह, कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था र युवामा बढ्दो निराशालाई गम्भीर सामाजिक संकेतका रूपमा लिन आग्रह गरे।
उनले प्रेम आचार्यदेखि गणेश नेपालीसम्म आत्मदाहका घटना दोहोरिनुले समाजमा आशा कमजोर हुँदै गएको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए। होल्डिङ सेन्टरमा कसैले भोकै बस्न नपरोस् र नागरिकले आत्मदाहजस्तो अन्तिम कदम रोज्नुपर्ने अवस्था अन्त्य गर्न सरकार अग्रसर हुनुपर्ने उनको आग्रह छ।
शर्माले सुकुम्बासीको पक्षमा आवाज उठाउने युवालाई हिरासतमा राखिएको घटनाप्रति पनि असन्तुष्टि जनाउँदै यस्तो विषयमा सत्ता–प्रतिपक्षभन्दा माथि उठेर सहकार्य आवश्यक रहेको बताए। उनले सरकारलाई नागरिकबीच पुगेर “तपाईंहरू एक्ला हुनुहुन्न, सरकार तपाईंको साथमा छ” भन्ने विश्वास दिलाउन आग्रह गरेका छन्।






































