काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।
शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भानुभक्तले संस्कृतको वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई जनस्तरसम्म पुर्याएको र राष्ट्रिय एकताको आधार बलियो बनाउन ऐतिहासिक योगदान दिएको उल्लेख गरेका छन्।
उनले भानुभक्तको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै नेपाली भाषा र साहित्यको संरक्षण, विकास तथा पुस्तान्तरणमा सामूहिक प्रयास आवश्यक रहेको बताए।
राष्ट्रपतिले तनहुँस्थित भानुभक्तको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सके त्यसैलाई आदिकविप्रति सच्चा सम्मान हुने धारणा पनि व्यक्त गरेका छन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीलाई उनले भानुजयन्तीको शुभकामना दिएका छन्।






































