काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सस्तो लोकप्रियता र उत्तेजनात्मक राजनीतिबाट मुलुकका समस्या समाधान नहुने बताएका छन्। देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले विकृति अन्त्य गर्ने जिम्मेवारी नै आचरण सुधार्न नसकेका नेतृत्वलाई दिँदा मुलुकले समस्या भोग्नुपरेको टिप्पणी गरेका छन्।
उनले चर्का भाषण र लोकप्रिय नाराका भरमा परिवर्तनको वाचा गर्ने शक्तिहरूको व्यवहार नै विरोधाभासपूर्ण देखिएको दाबी गर्दै यस्तो शैलीबाट देशको रूपान्तरण सम्भव नरहेको बताएका छन्।
पोखरेलले वर्तमान परिस्थितिले नेपाली समाजलाई सही नेतृत्व छनोटको आवश्यकता थप स्पष्ट रूपमा महसुस गराएको पनि उल्लेख गरेका छन्।






































