मस्को— रुसी प्रहरीले युद्धविरोधी क्रेमलिन आलोचक तथा विपक्षी नेता बोरिस नादेज्दिनलाई पक्राउ गरेको छ। आगामी सेप्टेम्बरमा हुन लागेको संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका ६३ वर्षीय नादेज्दिनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनविरुद्ध उम्मेदवारी दिन खोज्दा व्यापक चर्चा बटुलेका नादेज्दिनलाई यस पटक पनि निर्वाचन प्रक्रियाबाट रोक्ने प्रयास गरिएको छ। पक्राउ पर्नुअघि टेलिग्राममा जानकारी दिँदै उनले आफूविरुद्ध ‘उग्रवादी प्रतीक प्रदर्शन’ गरेको आरोप लगाइएको कागजात सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको उक्त भिडियोमा दिवङ्गत विपक्षी नेता एलेक्सी नाभाल्नीको तस्बिर देखाइएको थियो। नाभाल्नीको सन् २०२४ फेब्रुअरीमा आर्कटिक जेलमा रहस्यमय मृत्यु भएको थियो।

नादेज्दिनलाई पक्राउ गरिनु तीन दिनअघि मात्रै रुसी अधिकारीहरूले उनलाई ‘विदेशी एजेन्ट’ को बिल्ला भिराएका थिए। क्रेमलिनले आफ्ना आलोचक तथा असन्तुष्ट नागरिकलाई दबाउन प्रयोग गर्ने यो एउटा प्रमुख हतियार हो।

यद्यपि, नादेज्दिनले यो ‘मूर्खतापूर्ण’ आरोप भएको भन्दै आफू कानुनी रूपमा लड्न तयार रहेको बताउँदै आएका थिए। उनले आफू रुसमा हस्ताक्षर सङ्कलनमार्फत उम्मेदवारी दिने प्रयास गरिरहेको एक मात्र स्वतन्त्र विपक्षी उम्मेदवार रहेको दाबी गर्दै आएका छन्।

मस्कोको उत्तरी उपनगरीय क्षेत्रबाट चुनाव लड्ने योजना बनाएका नादेज्दिनले पुटिनको शासन र युक्रेन युद्धको खुलेर आलोचना गर्दै आएका छन्। हालैको एक अन्तर्वार्तामा उनले युद्धका कारण उत्पन्न इन्धन सङ्कट र बढ्दो महँगीका लागि पुटिनको २५ वर्षे कार्यकालको नीति जिम्मेवार रहेको आरोप लगाएका थिए। उनले पुटिनको बाटोलाई ‘सैन्यीकरण, अलगाववाद र निरंकुशता’ को संज्ञा दिएका छन्।

कानुनी स्रोतका अनुसार नादेज्दिनलाई सोमबार नै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। रुसमा पुटिनको नीति र युक्रेन युद्धको विरोध गर्ने थोरै व्यक्तिहरूमध्ये उनी एक हुन्, जो हालसम्म जेल वा निर्वासनमा जानबाट बचेका थिए। सेप्टेम्बर २० मा हुने यो संसदीय निर्वाचन रुस(युक्रेन युद्धको पाँचौँ वर्षमा हुँदैछ, जसले गर्दा यसको महत्व र जनजीवनमा पारेको प्रभाव अझ बढी चर्चामा छ।