काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले जनताका प्रश्नबाट उम्किन नमिल्ने भन्दै प्रधानमन्त्रीलाई तत्काल संसद्मा उपस्थित भएर जवाफ दिन चुनौती दिएका छन्। सरकार गठन भएको सय दिन पूरा भइसकेको उल्लेख गर्दै उनले अब परिणाम देखाउने बेला आएको बताए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै दुलालले लोकतन्त्रमा सरकार प्रश्नबाट भाग्ने होइन, संसद्मा उभिएर जवाफ दिने संस्कार हुनुपर्ने बताए। संसद् सरकारलाई नियन्त्रण र सन्तुलन गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले प्रधानमन्त्री स्वयं उपस्थित भएर उठेका सबै प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।
दुलालले सरकारकै तथ्याङ्कले महँगी दोब्बर बढेको देखाएको उल्लेख गर्दै यसको सबैभन्दा ठूलो मार गरिब, मजदुर र साना व्यवसायीमाथि परेको बताए। कर्मचारीको तलब बढाएर मात्र जिम्मेवारी पूरा नहुने भन्दै बजार मूल्य नियन्त्रण र बिचौलियामाथि सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए।
उनले गृहमन्त्रीको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नगरिएको, गम्भीर कानुनी विषयमा दोहोरो मापदण्ड अपनाइएको तथा सुकुम्बासीमाथि अमानवीय व्यवहार भएको आरोप लगाउँदै सरकारले संसद् र जनतालाई स्पष्ट जवाफ दिनुपर्ने बताए।
सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने प्रयास, नागरिकको आलोचनाप्रति असहिष्णु व्यवहार र संवैधानिक निकायमाथि हस्तक्षेपको प्रयासले सरकारको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठेको उनको भनाइ थियो।
संसद् मन्त्रीले सांसदलाई धम्काउने थलो होइन, सरकारलाई जवाफदेही बनाउने सर्वोच्च संस्था हो,भन्दै दुलालले प्रधानमन्त्री संसद्मा आएर जनताले उठाएका सबै प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्नेमा जोड दिए।






































