काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वपदाधिकारीहरूले जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न आयोगसँग माग गरेका छन्। संक्षिप्त सारांश मात्रै सार्वजनिक गरेर मूल प्रतिवेदन गोप्य राखिएको भन्दै उनीहरूले आयोगको पारदर्शितामाथि प्रश्न उठाएका हुन्।


पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायसहित आयोगका पूर्वसदस्य र पूर्वसचिवहरूले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर करिब ६ सय पृष्ठको मूल प्रतिवेदन तथा प्रमाण–सहितको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा आयोगले करिब १० हजार पृष्ठको अनुसन्धान सामग्रीलाई २९ पृष्ठको सारांशमा सीमित गरेको छ, जसले घटनाको वास्तविक चित्र प्रस्तुत गर्न नसक्ने उनीहरूको दाबी छ।


पूर्वआयुक्तहरूले गम्भीर मानवअधिकार उल्लङ्घनसम्बन्धी तथ्य लुकाइए आयोगको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएका छन्। साक्षी सुरक्षाजस्ता संवेदनशील विषयबाहेक सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरी सत्यतथ्य बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने उनीहरूको माग छ।