काठमाडौं । बहुचर्चित रातो पासपोर्ट दुरुपयोग प्रकरणमा उच्च अदालत पाटनले संविधानसभाका तीन पूर्वसदस्यविरुद्ध जिल्ला अदालतले सुनाएको कैद र जरिबानाको फैसला सदर गरेको छ।

उच्च अदालतका न्यायाधीश खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐनविपरीत कसुरमा दोषी ठहर गर्दै जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबाना हुने जिल्ला अदालतको फैसला यथावत् राखेको हो।

प्रहरी अनुसन्धानअनुसार उनीहरूले संविधानसभा सदस्यका रूपमा प्राप्त विशिष्ट कूटनीतिक ९रातो० पासपोर्ट आर्थिक लाभका लागि बिचौलियालाई उपलब्ध गराएका थिए। त्यसपछि पासपोर्टमा रहेका वास्तविक तस्बिर हटाई नक्कली तस्बिर, भिसा स्टिकर र सरकारी छापसमेत कीर्ते गरेर विदेश पठाउने गिरोह सक्रिय भएको आरोप थियो।

यही प्रकरणमा नक्कली राहदानी प्रयोग गर्ने म्याग्दीका पृथ्वी छन्त्याललाई एक वर्ष कैद र ५०० रुपैयाँ जरिबाना तोकिएको छ भने बिचौलियाको भूमिकामा रहेका पाँच जनालाई जनही एक वर्ष कैद र ५ लाख ५४ हजार रुपैयाँ जरिबाना हुने फैसला पनि कायम रहेको छ।

यद्यपि, प्रत्यक्ष संलग्नता पुष्टि नभएको भन्दै तत्कालीन संविधानसभा सदस्य नारदमुनि राना र हरिचरण साहसहित केही प्रतिवादीले भने यसअघि नै सफाइ पाइसकेका छन्।