काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत ज्यान मार्ने तथा गोली हान्ने धम्की आइरहेको भन्दै प्रतिनिधिसभामै गम्भीर ध्यानाकर्षण गराएका छन्।

मंगलबार संसद बैठकमा बोल्दै महरले आफूले सरकारका कामकारबाहीमाथि रचनात्मक आलोचना गरेकै कारण केही व्यक्तिबाट निरन्तर धम्की आएको दाबी गरे। उनले जनताले दिएको जिम्मेवारीअनुसार संसदमा गुण–दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्ने अधिकार आफूलाई रहेको उल्लेख गरे।

महरका अनुसार फेसबुकमा गरिएको एक पोस्टको टिप्पणीमै आफूलाई ‘गोली हानेर मार्ने’ चेतावनी दिइएको छ। धम्की दिने व्यक्तिले आफ्नो नाम र ठेगाना समेत उल्लेख गरेको उनले संसदलाई जानकारी गराए। अर्को एक व्यक्तिबाट पनि यस्तै प्रकृतिको धम्की आएको उनको भनाइ छ।

घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्दै महरले राज्यका सुरक्षा निकायले यस्ता धम्कीबारे तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। यस घटनाले निर्वाचित जनप्रतिनिधिको अभिव्यक्ति स्वतन्त्रता र सुरक्षामाथि नयाँ प्रश्न खडा गरेको छ।