काठमाडौं । करार कर्मचारी हटाएर आउटसोर्सिङ प्रणालीमार्फत नयाँ जनशक्ति भित्र्याउने सरकारी तयारीविरुद्ध देशभरका १८ मन्त्रालयमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन्। मंगलबार उनीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य गेटमै धर्ना दिँदै प्रस्तावित निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
आन्दोलनरत कर्मचारीले सरकारले आउटसोर्सिङ लागू गरे हजारौं करार कर्मचारीको रोजगारी संकटमा पर्ने दाबी गरेका छन्। वर्षौंदेखि सेवा दिँदै आएका कर्मचारीलाई विस्थापित गर्ने निर्णय अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ।
उनीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न, करार कर्मचारीको भविष्य सुरक्षित बनाउन तथा आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी रोक्न सरकारलाई दबाब दिएका छन्। माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिएका छन्।






































