काठमाडौं / नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न सडकखण्ड अत्यन्त जीर्ण बनेकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भएको बताए ।
उनले भने, ‘इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि, आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी नागरिक झापाको अस्पतालसम्म आउन सक्ने स्थिति छैन। राजदरबारको बाटोखण्ड उत्तिकै बेहाल अवस्थामा छ ।’
उनले इलाम–राजदरबार सडकखण्ड, माइजोगमाई खोलाको बेलीब्रिज, पुवाखोलाको बेलीब्रिज तथा सिमलगोल क्षेत्रका सडकहरूको अवस्था सुधारका लागि पटक–पटक सदनमा आवाज उठाए पनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे ।
गत वर्षको प्राकृतिक विपत्तिपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि आवश्यक बजेट पूर्ण रूपमा उपलब्ध नगराइएको उनको भनाइ थियो। सन्दकपुर, माइजोगमाई, रोङ र सूर्योदय नगरपालिका उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले ती क्षेत्रमा अझै पनि बस्ती विस्थापनको जोखिम कायम रहेको बताए।
राईले माइजोगमाई गाउँपालिका र आसपासका क्षेत्रमा नदी कटानका कारण खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित किसानलाई राहत र नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरे।
उनले सन्दकपुर अस्पताल, सूर्योदय नगरपालिका–१२ देखि वडा नं। ३ जोड्ने सडक, माइपोखरी–ढापपोखरी–नयाँबजार सडकलगायत स्थानीय विकास आयोजनाहरू अघि बढाउन पनि सरकारसँग आग्रह गरे ।




































