काठमाडौं । निर्वाचनमा अप्रत्याशित हारपछि नेपाली कांग्रेसले आफ्नै कमजोरी स्वीकार्दै पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ। सभापतिले सार्वजनिक गरेको लामो राजनीतिक दस्तावेजमा विगतको सत्तामुखी राजनीति, नागरिकसँग बढेको दूरी र पार्टीभित्रको सिन्डिकेट नै पराजयका मुख्य कारण रहेको स्वीकार गरिएको छ।

कांग्रेसले अब जोसँग पनि सत्ता साझेदारी गर्ने पुरानो शैली अन्त्य गर्ने, सिद्धान्तनिष्ठ प्रतिपक्षको भूमिका निभाउने र नागरिकका मुद्दामा केन्द्रित हुने नीति लिएको जनाएको छ।

पार्टीले देशभर सञ्चालन गरेको ुजरा अभियानु मार्फत मतदाता र कार्यकर्ताको असन्तुष्टि सुनेपछि संगठनात्मक सुधार सुरु गरिएको दाबी गरेको छ। अब उम्मेदवार छनोटमा प्राइमरी निर्वाचन प्रणाली, डिजिटल सदस्यता, इलेक्सन ब्युरो, लिडरसिप एकेडेमी र सिभिक सेन्ट्रिक (नागरिक केन्द्रित) पार्टी निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

कांग्रेस नेतृत्वले अब बोली होइन, व्यवहारबाट बदलिएको कांग्रेस देखाउने प्रतिबद्धता व्यक्त गर्दै विगतको राजनीति दोहोरिन नदिने दाबी गरेको छ।