काठमाडौं। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको सङ्ख्या बढ्दै गएको छ । सुरुमा १३ अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

पोर्टलमार्फत अस्पतालले आफ्नो कुल शय्या सङ्ख्या र त्यसको १० प्रतिशत बराबरको निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्ने गरेका छन् ।

विपन्न बिरामी वा उनीहरूका आफन्तले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निःशुल्क शय्या उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । साथै अस्पतालमा उपलब्ध रगतसम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिनेछ ।

संविधानमा व्यवस्था गरिएको निःशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालमा सोमबार दिउँसोसम्म २८ हजार ७०४ शय्याको १० प्रतिशत बराबर तीन हजार ३८० निःशुल्क शय्या उपलब्ध छन् । तीमध्ये ५९३ शय्यामा विपन्न बिरामीले निःशुल्क उपचार पाइरहेका छन् भने अझै दुई हजार ७८७ शय्या खाली छ । 

प्रवक्ता अधिकारीका अनुसार पोर्टल सञ्चालनपछि हालसम्म एक हजार ७६० भन्दा बढी व्यक्तिले निःशुल्क शय्या सुविधा पाएका छन् ।

देशका ठूला अस्पतालमध्ये सबैभन्दा बढी निःशुल्क शय्या बिपी कोइराला क्यान्सर अस्पतालमा उपलब्ध छ । त्यहाँ उपलब्ध २५१ निःशुल्क शय्यामध्ये सबै खाली छन् । निःशुल्क शय्याको सबैभन्दा बढी प्रयोग भने वीर अस्पतालमा भएको छ ।

डा अधिकारीले निःशुल्क शय्याबारे आम नागरिकलाई जानकारी नभएकाले प्रयोगकर्ता संख्या कम देखिएको बताउँदै जानकारी विस्तारसँगै यसको प्रयोग बढ्ने बताउनुभयो ।

मन्त्रालयले निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ स्वीकृत गरी ‘वेबसाइट’मा राखेको जनाएको छ । पोर्टललाई थप व्यवस्थित बनाउँदै लक्षित वर्गलाई निःशुल्क उपचार सेवा सहज बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।