काठमाडौं । टमाटरको उचित मूल्य नपाएको भन्दै बुधबार माइतीघर मण्डलमा किसानहरूले टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेपछि सरकारले बजार व्यवस्थापनमा सक्रियता देखाएको छ।

आन्दोलनमा सहभागी किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयमा छलफल गरी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

छलफलका क्रममा किसानहरूले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजारसम्म सहज पहुँच कायम गर्न तथा बिचौलियाको प्रभाव न्यूनीकरण गर्न सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताएका थिए। मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै बजार व्यवस्थापन र आपूर्ति प्रणाली सुधारका लागि तत्काल कार्य अघि बढाइएको जानकारी दिइन्।

मन्त्रालयको पहल तथा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको समन्वयमा बुधबारदेखि कालीमाटीबाट टमाटर उपत्यका बाहिर ढुवानी सुरु गरिएको छ। बाहिरी जिल्लामा रहेको मागलाई लक्षित गर्दै टमाटर पठाउन थालिएको मन्त्रालयले जनाएको छ। यसबाट किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण हुने विश्वास गरिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानका उत्पादनले उचित बजार र मूल्य पाउने सुनिश्चितताका लागि बजार विस्तार, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।