काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कांग्रेस–एमाले गठबन्धनमा आएको दरारले अब बागमती प्रदेशको राजनीतिलाई पनि तरंगित बनाएको छ। गठबन्धन औपचारिक रूपमा टुटेको घोषणा नभए पनि सत्ता समीकरण फेरिन सक्ने संकेतसँगै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सरकारको नेतृत्व दाबी गर्ने रणनीति अघि बढाएको छ।
बागमतीमा कांग्रेस नेतृत्वको सरकार कायम रहे पनि एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी थालेको चर्चा छ। त्यससँगै वामपन्थी समीकरण निर्माणका लागि एमालेले नेकपासँग अनौपचारिक संवाद अघि बढाएको बताइएको छ। नेकपाका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल ले एमालेबाट सहकार्यको प्रस्ताव आएको स्वीकार गर्दै, यदि सरकार परिवर्तन हुने अवस्था बने दोस्रो ठूलो दलको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने स्पष्ट पारे।
जम्कट्टेलका अनुसार अहिलेको अवस्थामा नेकपा कांग्रेस वा एमालेलाई मात्र समर्थन गरेर सरकार बनाउने पक्षमा छैन। सरकार परिवर्तन अपरिहार्य भए सहमतिमा आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने उनको अडान छ। उनले सुदूरपश्चिममा एमालेले आफ्नै सहभागितामा बनेको सरकारले ल्याएको बजेट पारित गर्न असहयोग गरेर गठबन्धन संकटमा पारेको भन्दै त्यसको प्रभाव अन्य प्रदेशमा पनि देखिएको टिप्पणी गरे।
हाल बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नेतृत्वको कांग्रेस सरकार छ। गत वर्ष बहादुर सिंह लामालाई हटाएर बानियाँ मुख्यमन्त्री बनेका थिए। त्यतिबेला पनि कांग्रेसभित्र देउवा र गगन थापा पक्षबीचको आन्तरिक प्रतिस्पर्धाले सरकार परिवर्तन गराएको विश्लेषण गरिएको थियो। अहिले पनि केन्द्रमा कांग्रेस–एमाले सम्बन्ध चिसिँदै गएको चर्चाबीच प्रदेशमा नयाँ समीकरणको सम्भावना बढेको देखिएको छ।
यद्यपि कांग्रेस र एमाले दुवैले गठबन्धन अन्त्य भएको औपचारिक घोषणा गरेका छैनन्। त्यसैले नेकपाले पनि केन्द्रको निर्णय पर्खिरहेको छ। पार्टीभित्र भने सम्भावित सरकार गठनका लागि तीन आधार तय गरिएको बताइएको छ—पहिलो, तीन प्रमुख दलको सहमतिमा सरकार गठनस दोस्रो, कांग्रेस वा एमालेलाई एक्लै समर्थन नगर्नेस र तेस्रो, सरकार गठन नै असम्भव बने प्रदेशलाई आवश्यक निर्णय गर्ने अधिकार दिने।
यदि बागमतीमा नेकपाको नेतृत्वमा सरकार बन्ने अवस्था सिर्जना भयो भने पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल र पूर्वकानुनमन्त्री गंगानारायण श्रेष्ठ मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा चर्चामा छन्।
शालिकराम जम्कट्टेल यसअघि मुख्यमन्त्री भइसकेका नेता हुन्। उनी अहिले पनि प्रदेश संसदीय दलका नेता छन्। यद्यपि उनले आफू व्यक्तिगत रूपमा फेरि मुख्यमन्त्री बन्ने चाहना नराखेको र पार्टीले आवश्यक ठानेमा मात्रै निर्णय स्वीकार गर्ने बताएका छन्।
अर्कोतर्फ, गंगानारायण श्रेष्ठको नाम पनि बलियो रूपमा अगाडि आएको छ। पार्टी स्रोतका अनुसार प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि पार्टी नेतृत्वले भविष्यमा बागमतीको मुख्यमन्त्री बनाउने आश्वासन दिएको चर्चा छ। यही कारण सरकार गठनको अवस्था आए श्रेष्ठ पनि प्रमुख प्रतिस्पर्धी बन्न सक्ने आकलन गरिएको छ।
श्रेष्ठले भने अहिले नै सरकार परिवर्तनबारे निर्णय गर्ने अवस्था नरहेको बताएका छन्। सत्ता गठबन्धन आधिकारिक रूपमा नटुटेसम्म कुनै निष्कर्षमा पुग्न नहुने र प्रदेशसभाको कार्यकाल पनि छोटो बाँकी रहेकाले सरकार फेरबदल उपयुक्त नहुने उनको भनाइ छ।
उता नेकपाका बागमती प्रदेश संयोजक सरल सहयात्री पौडेल ले पनि गठबन्धन भत्किए स्वाभाविक रूपमा नेकपाले सरकारको नेतृत्व दाबी गर्ने बताए। तर आफू मुख्यमन्त्रीको दौडमा नरहेको स्पष्ट गर्दै अन्तिम निर्णय पार्टी नेतृत्वले गर्ने बताए।
सुदूरपश्चिमबाट सुरु भएको कांग्रेस–एमाले सम्बन्धको संकट अब बागमतीसम्म फैलिने संकेत देखिएको छ। गठबन्धन औपचारिक रूपमा भत्किए प्रदेशको सत्ता समीकरण पूर्ण रूपमा फेरिन सक्ने सम्भावनाबीच नेकपाले नेतृत्वको दाबी गर्न रणनीतिक तयारी तीव्र बनाएको छ।






































