काठमाडौं । एमालेका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।

विशेष सरकारी वकिल कार्यालयका अनुसार यसअघि व्यवसायी दीपक भट्ट विरुद्ध दर्ता भइसकेको मुद्दासँग सम्बन्धित पूरक अभियोगका रूपमा नयाँ प्रतिवादी थप गर्न लागिएको हो। यस प्रकरणमा व्यवसायी दीपक भट्ट, सुवी अग्रवाल लगायत सात जनालाई प्रतिवादी बनाउने तयारी गरिएको छ। अनुसन्धानबाट प्राप्त विवरणका आधारमा करिब ३३ करोड रुपैयाँ बराबरको सम्पत्ति, १५० रोपनीभन्दा बढी जग्गा तथा तीन लाख ७५ हजार कित्ता सेयर कारोबार सम्पत्ति शुद्धीकरणसँग जोडिएको आशंकामा अभियोग लगाउन लागिएको जनाइएको छ।


विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता भिमसेन काफ्ले ले अनुसन्धान प्रतिवेदन अध्ययनको अन्तिम प्रक्रिया चलिरहेको र विशेष अदालतमा पूरक अभियोगपत्र दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। अनुसन्धान निकायले विष्णु पौडेलमाथि स्रोत नखुलेको सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा मतियार (सहयोगी) को हैसियतमा कानुनी कारबाहीको माग गर्ने तयारी गरेको बताइएको छ।

यदि अभियोगपत्र दर्ता भयो भने यो प्रकरण पूर्वअर्थमन्त्रीसमेत मुछिएको चर्चित सम्पत्ति शुद्धीकरण मुद्दाका रूपमा अगाडि बढ्नेछ। यद्यपि, अदालतले दोष प्रमाणित नगरेसम्म सम्बन्धित सबै व्यक्ति कानुनी रूपमा निर्दोष मानिन्छन्।