काठमाडौं । मुलुकको अर्थतन्त्र र वित्तीय प्रणालीसँग जोडिएका महत्वपूर्ण विषयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलबीच उच्चस्तरीय भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शेयर बजारको पछिल्लो अवस्था, बैंकिङ क्षेत्रका चुनौती, वित्तीय प्रणालीको स्थायित्व तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा मुलुकको वित्तीय क्षेत्रलाई थप प्रभावकारी, विश्वासयोग्य र चलायमान बनाउने उपायबारे विचार आदानप्रदान भएको थियो।

नयाँ आर्थिक वर्ष सुरु हुनुअघि भएको यो भेटलाई अर्थतन्त्रसँग सम्बन्धित नीतिगत समन्वयको संकेतका रूपमा हेरिएको छ। पछिल्लो समय शेयर बजार, बैंकिङ प्रणालीमा तरलता, कर्जा प्रवाह र लगानीको वातावरणबारे चासो बढिरहेका बेला प्रधानमन्त्री र गभर्नरबीचको छलफललाई अर्थपूर्ण मानिएको छ। यद्यपि भेटपछि कुनै नयाँ नीतिगत निर्णय वा घोषणा भने सार्वजनिक गरिएको छैन।