काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीत र भिडियोमाथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ। संगठनले उक्त सामग्रीले शिक्षक पेसाको सम्मान र सामाजिक मूल्य–मान्यतामाथि आघात पुर्‍याएको दाबी गर्दै तत्काल प्रसारण रोक्न र कानुनी प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको हो।

संगठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले शुक्रबार जारी गरेको विज्ञप्तिमा गीतले शिक्षकको गरिमा, गुरु–शिष्य सम्बन्ध र महिलाप्रतिको सम्मानलाई कमजोर बनाउने शैली अपनाएको आरोप लगाइएको छ। कला र अभिव्यक्तिको स्वतन्त्रताको नाममा अश्लीलता, विकृति र उपभोक्तावादी संस्कृतिलाई बढावा दिने सामग्री स्वीकार्य नहुने संगठनको भनाइ छ। "अश्लीलता र विकृतिलाई कला वा अभिव्यक्तिको स्वतन्त्रताको नाममा वैध बनाउन सकिँदैन।" विज्ञप्तीमा भनिएको छ । 

अखिल (क्रान्तिकारी) ले गीत तथा भिडियो सार्वजनिक गर्ने निर्माता, निर्देशक, कलाकार र सम्बन्धित सबै पक्षमाथि प्रचलित कानुनअनुसार छानबिन गरी आवश्यक कारबाही गर्न पनि माग गरेको छ। यस्ता सामग्रीले समाजमा गलत सन्देश प्रवाह गर्ने र शिक्षण पेसाप्रतिको सम्मानमा नकारात्मक असर पार्ने संगठनको दाबी छ। "‘मास्टर्नी’ गीतले शिक्षकको गरिमा र सामाजिक मर्यादामाथि प्रहार गरेको छ। त्यसैले यसमाथि तत्काल प्रतिबन्ध लगाइनुपर्छ।" विज्ञप्तीमा भनिएको छ । 

साथै, संगठनले शिक्षकको प्रतिष्ठा, शिक्षाको मर्यादा र स्वस्थ राष्ट्रिय संस्कृतिको संरक्षणका लागि सबै सरोकारवाला तथा नागरिकलाई एकजुट हुन आह्वान गरेको छ। पछिल्लो विवादसँगै चलचित्र ‘मास्टर्नी’ को प्रचार सामग्रीलाई लिएर सार्वजनिक बहस थप चर्किने संकेत देखिएको छ।