काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहभागी एक सार्वजनिक कार्यक्रममा शुक्रबार अप्रत्याशित घटना भयो। प्रसाईंले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे धारणा राखिरहेका बेला दुई महिलाले रुँदै–चिच्याउँदै आफूहरूको समस्या समाधान नभए आत्महत्या गर्ने चेतावनी दिएपछि कार्यक्रम केहीबेर तनावग्रस्त बनेको हो।

प्रत्यक्षदर्शीका अनुसार ती महिलाहरू मञ्चतर्फ अघि बढ्दै ूहाम्रो कुरा सुनिदिनुस्, नत्र आत्महत्या गर्छौंू भन्दै भावुक बनेका थिए। स्थिति असहज हुन थालेपछि आयोजक र सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लगे।

आत्महत्याको चेतावनी दिने महिलाहरू हेटौँडाकी शान्तिकुमारी कार्की र काठमाडौंकी सरिता कार्की रहेको बताइएको छ। उनीहरूले यस्तो कदम किन चाल्न खोजेका हुन् भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक भएको छैन।

यसअघि सम्बोधनका क्रममा प्रसाईंले नेपाल गम्भीर भूराजनीतिक दबाबमा परेको दाबी गर्दै आगामी दसैंतिर विदेशी सेना नेपाल आउनेसम्मको अभिव्यक्ति दिएका थिए। उनले देशको आर्थिक अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख गर्दै सिंहदरबार र बालुवाटारअगाडि एकैदिन ५० जनाले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका थिए।

प्रसाईंको विवादास्पद अभिव्यक्तिसँगै कार्यक्रममा देखिएको यो घटनाले उपस्थित सहभागीबीच केहीबेर हलचल मच्चिएको थियो। घटनाबारे थप आधिकारिक विवरण आउन बाँकी छ।