काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवा जोडिएका दुई कम्पनीको नाम पनि अनुसन्धानमा तानिएको छ। अनुसन्धानका क्रममा थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट जयवीरको लगानी रहेको कम्पनीहरूमा २ करोड ६० लाख रुपैयाँ पुगेको विवरण खुलेपछि उक्त कारोबारमाथि थप छानबिन अघि बढाइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार, भट्टको कम्पनीबाट स्कालर इन्टरनेशनल र डिजी हट नामक कम्पनीमा उक्त रकम भुक्तानी गरिएको देखिएको छ। विभागले यो रकम गैरकानुनी आम्दानीसँग सम्बन्धित हुन सक्ने आशंकामा त्यसको स्रोत, उद्देश्य र कारोबारको प्रकृतिबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार, उक्त रकम कसुरबाट प्राप्त सम्पत्तिसँग सम्बन्धित हुन सक्ने आधार देखिएकाले कानुनअनुसार थप अनुसन्धान गरिनेछ।
यसैक्रममा विभागले असार २२ गते जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन औपचारिक सूचना जारी गरेको थियो। उनी सम्पर्कमा नआएपछि गोरखापत्रमार्फत सार्वजनिक सूचना पनि प्रकाशित गरिएको थियो। तर विभागका अनुसार हालसम्म जयवीर अनुसन्धानमा उपस्थित भएका छैनन्।
यो प्रकरणमा जयवीर देउवालाई हालसम्म अभियुक्त बनाइएको छैन। अनुसन्धान जारी रहेकाले विभागले संकलन हुने प्रमाणका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।






































