काठमाडौं। लगातारको वर्षासँगै देशभर झाडापखाला, हैजा, डेंगु र अन्य संक्रामक रोगका बिरामी बढ्न थालेपछि स्वास्थ्य निकायले नागरिकलाई दूषित पानी र अस्वच्छ खानाबाट विशेष सतर्क रहन आग्रह गरेको छ।
मनसुन सक्रिय भएसँगै देशभर पानीजन्य तथा संक्रामक रोगको जोखिम बढेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार पछिल्लो एक सातामै ७८५ जना तीव्र झाडापखालाका बिरामी फेला परेका छन्।
महाशाखाले इन्फ्लुएन्जा, श्वासप्रश्वास संक्रमण, डेंगु र स्क्रब टाइफसका बिरामी पनि बढिरहेको जनाएको छ। झाडापखालाका सबैभन्दा धेरै बिरामी बागमती प्रदेशमा भेटिएका छन्।
यता, मेलम्ची खानेपानी आपूर्ति अवरुद्ध भई ट्यांकरको पानी प्रयोग बढेसँगै काठमाडौं उपत्यकामा हैजाको जोखिम पनि उच्च भएको स्वास्थ्य विज्ञहरूको चेतावनी छ।
स्वास्थ्य मन्त्रालयले उमालेको वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, खुला ठाउँको खाना नखान, साबुनपानीले नियमित हात धुन र पखाला वा बान्ता बढी भए तुरुन्त स्वास्थ्य संस्थामा जान सबैलाई आग्रह गरेको छ।




































