काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान बालेन नेतृत्वको सरकारमाथि तीव्र राजनीतिक आक्रमण गर्दै यसको गठन हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको पृष्ठभूमिमा भएको आरोप लगाएका छन्।

पार्टीको संसदीय मामिला विभागले आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले अहिलेको राजनीतिक अवस्था दिशाविहीन, विधिविहीन र थितिविहीन बन्दै गएको टिप्पणी गरे। लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधानले स्पष्ट कानुनी प्रक्रिया तय गरेको भए पनि अहिलेको सरकार त्यही प्रक्रियाबाट नभई अराजक गतिविधिको वातावरणबाट बनेको उनको दाबी थियो।

ओलीले मुलुकको राजनीति अहिले स्थिर नीतिभन्दा अस्थिर अभ्यासतर्फ धकेलिएको आरोप लगाउँदै, गत भदौ २३–२४ पछि नेपालको राजनीतिक यात्रा सही दिशाबाट विचलित भएको दाबी गरे। उनका अनुसार त्यसयता राजनीतिक निर्णयहरू लोकतान्त्रिक मूल्य र संस्थागत प्रक्रियाभन्दा बाहिर गएर भइरहेका छन्।

एमाले अध्यक्षको यो अभिव्यक्तिलाई वर्तमान सरकारप्रति गरिएको पछिल्लो सबैभन्दा कडा राजनीतिक आलोचनाका रूपमा हेरिएको छ। सरकार निर्माणको वैधानिकता र राजनीतिक प्रक्रियामाथि नै प्रश्न उठाउँदै उनले आगामी दिनमा संसद र सार्वजनिक बहसमा यो विषय अझ चर्किने संकेत दिएका छन्।