काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान मिश्रित निर्वाचन प्रणालीबारे पुनः बहस आवश्यक रहेको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै समावेशी संसद् निर्माण गर्ने विकल्पमा राष्ट्रिय छलफल गर्न प्रस्ताव गरेका छन्।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै थापाले समावेशिता लोकतन्त्रको आधारभूत मूल्य भएकाले त्यसलाई कुनै पनि रूपमा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार दलित, महिला, जनजातिलगायत उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचन क्षेत्रमा निश्चित सिट वा क्षेत्र आरक्षण जस्ता विकल्पमाथि पनि खुला बहस हुन सक्छ।

थापाले संविधान संशोधनका क्रममा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्वलाई कांग्रेसले मुख्य प्राथमिकतामा राख्ने बताए। साथै, सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन केन्द्रका केही अधिकार र स्रोत प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा पनि उनले जोड दिए।

उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलबीच सहमति र तथ्यमा आधारित बहस अपरिहार्य रहेको उल्लेख गर्दै मुलुकलाई कुनै पनि राजनीतिक टकराव वा अस्थिरताबाट जोगाउन कांग्रेस जिम्मेवार भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।