काठमाडौं । प्रदेश सरकारको सत्ता समीकरण फेरि एकपटक तरंगित बनेको छ। कांग्रेस–एमालेबीचको सहकार्य केही प्रदेशमा टुट्न थालेपछि नयाँ समीकरणको केन्द्रमा नेकपा देखिएको छ। तर, नेकपाले भने तत्काल सत्ता यात्रामा होमिनेभन्दा पहिले राजनीतिक अवस्था स्पष्ट हुने प्रतीक्षामा रहने संकेत दिएको छ।
श्रीलंका भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब प्रदेश सरकारबारे औपचारिक छलफल अघि बढाउने तयारी गरेका छन्। त्यसअघि उनी सहसंयोजक माधवकुमार नेपालसँग परामर्शमा बस्नेछन्। यही छलफलपछि मात्रै कांग्रेस, एमालेलगायत अन्य दलसँग सम्भावित सहकार्यबारे निर्णय हुने नेताहरूको भनाइ छ।
नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार पार्टीको प्राथमिकता सत्ता प्राप्ति होइन, राजनीतिक स्थिरता हो। यद्यपि प्रदेश सरकार गठन नै अन्योलमा पर्ने अवस्था सिर्जना भएमा जिम्मेवारीबाट पछि नहट्ने नीति पार्टीले लिएको छ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा कांग्रेस–एमाले सम्बन्ध बिग्रिएपछि नयाँ सरकार गठनको सम्भावना बढेको छ। यही कारण दुवै ठूला दलले नेकपाको समर्थन खोज्न थालेका छन्।
यसअघि प्रचण्ड विदेशमै रहेका बेला नेकपाका नेताहरू वर्षमान पुन र प्रमेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका थिए। यद्यपि त्यस भेटबाट कुनै ठोस सहमति भने बनेको थिएन।
नेकपाभित्र पनि सरकारमा जाने विषयमा मत एकरूप छैन। झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेतलगायत नेताहरूले प्रदेश निर्वाचन नजिकिएकाले सरकार गठनको खेलमा नलाग्नुपर्ने धारणा राखिरहेका छन्।
यता, कांग्रेसका सभापति गगन थापाले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने अवधारणाप्रति असहमति जनाउँदै प्रदेशमा बलियो प्रतिपक्ष रहनुपर्ने पक्षमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
अब कांग्रेस–एमाले सम्बन्ध औपचारिक रूपमा कुन दिशामा मोडिन्छ र त्यसपछि प्रचण्ड–माधवबीचको छलफलले कस्तो निष्कर्ष निकाल्छ भन्ने विषयले प्रदेश सरकारको आगामी समीकरण तय गर्ने देखिएको छ।






































