विराटनगर । नेपाल–भारत व्यापार तथा पारवहन व्यवस्थामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक कार्गो रेल सिधै विराटनगर कस्टम यार्ड आइपुगेको छ। यससँगै तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ अब रेलमार्फत नै पूर्वी नेपालसम्म ल्याउने व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

शुक्रबार कोलकाताबाट छुटेको कच्चा पदार्थ बोकेको रेल सोमबार विराटनगर पुगेको हो। पहिलो कार्गोमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ रहेको छ।

यो सेवाले विशेषगरी मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई ढुवानी खर्च र समय दुवै घटाउने अपेक्षा गरिएको छ। अब समुद्री बन्दरगाहबाट आएका कन्टेनर भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म पुग्ने भएकाले सडक ढुवानीमा निर्भरता कम हुने विश्वास गरिएको छ।

कार्गो रेल सेवाको शुभारम्भ कोलकातामा नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा गरेका थिए। विराटनगर पुगेपछि भन्सार अधिकारी र उद्योगी–व्यवसायीले रेलको स्वागत गरेका छन्।

यसअघि बथनाहा–विराटनगर रेलमार्फत सीमित रूपमा सेवा सञ्चालन भए पनि २०८० जेठपछि नियमित ढुवानी हुन सकेको थिएन। पछिल्लो नीतिगत समन्वय र आवश्यक प्रक्रियागत सुधारपछि भने अब कोलकातादेखि विराटनगरसम्म नियमित कार्गो रेल सञ्चालनको बाटो खुलेको छ।

उद्योगीहरूले यसलाई पूर्वी नेपालको औद्योगिक प्रतिस्पर्धा बढाउने, आयात प्रक्रिया सहज बनाउने र अन्तर्राष्ट्रिय व्यापारलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा लिएका छन्।