काठमाडौं । प्रदेश सरकार गठनको चाबी अहिले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को हातमा पुगेको छ। तर सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीभित्रै दुई धार देखिएको छ।
प्रचण्ड र माधव नेपाल पक्ष कांग्रेस, एमाले र नेकपा मिलेर सहमतिको सरकार बनाउनुपर्ने अडानमा छन्। तीन दलबीच सहमति बने मात्रै सरकारमा सहभागी हुने उनीहरूको निष्कर्ष छ।
यता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल र शक्ति बस्नेतलगायतका नेताहरू भने फेरि सत्ताको खेलमा नलाग्नुपर्ने पक्षमा छन्।
यसबीच नेकपाले कांग्रेस र एमाले दुवैसँग निरन्तर संवाद गरिरहेको छ। तर कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा अहिलेसम्म अन्तिम निर्णय भएको छैन।
सुदूरपश्चिम र कर्णालीमा विश्वासको मत लिन अझै समय बाँकी रहेकाले नेकपा हतारिने पक्षमा देखिएको छैन। अब प्रदेश सरकारको समीकरण कता मोडिन्छ भन्ने निर्णय नेकपाको आगामी कदमले तय गर्नेछ।





































