काठमाडौं । प्रदेश सरकारको नयाँ सत्ता समीकरण बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेसँग सहकार्य गर्ने दिशामा अघि बढेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका नेताहरूलाई एमालेसँग गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन्।

श्रीलंका भ्रमणबाट फर्किएपछि प्रचण्डले प्रदेशका प्रमुख नेताहरूसँग छलफल गर्दै कांग्रेसले तीन दलको सरकार अस्वीकार गरेपछि अब प्रदेशलाई राजनीतिक अन्योलमा जान नदिन एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताएका हुन्।

नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालका अनुसार शीर्ष नेतृत्वको छलफलपछि अधिकांश प्रदेशमा एमालेसँग मिलेर सरकार गठन गर्ने समझदारी बनेको छ। यद्यपि कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अझै अन्तिम निर्णय भएको छैन।

यसअघि कांग्रेस, एमाले र नेकपाबीच संयुक्त सरकार बनाउने प्रयास भए पनि कांग्रेसले प्रतिपक्षविहीन प्रदेशसभा स्वीकार नगर्ने अडान लिएपछि नयाँ सत्ता समीकरणतर्फ छलफल केन्द्रित भएको हो।

सातै प्रदेशको अंकगणितमा नेकपा निर्णायक अवस्थामा रहेकाले एमालेसँगको सहकार्यले प्रदेश सरकारको समीकरण फेरिने सम्भावना बढेको छ। सत्ता बाँडफाँट र मुख्यमन्त्रीको भागबण्डाबारे शीर्ष तहमा थप छलफल जारी रहेको बताइएको छ।