काठमाडौं । तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवामा नेपाल प्रहरीका तीन वटा कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको छ। तीनवटै प्रहरी कार्यालयमा ठूलो क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

बाढी एक्कासि आएको र तीव्र बहावका कारण प्रहरी कार्यालयका संरचनामा क्षति पुगेको हो। बाढीले कार्यालयमा रहेका सामग्री तथा अन्य संरचनामा समेत क्षति पुर्‍याएको हुनसक्ने भए पनि यसको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रहरी प्रधान कार्यालयले प्रभावित कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको अवस्थाबारे समेत विवरण संकलन भइरहेको जनाएको छ। उनीहरू सुरक्षित छन् वा छैनन् भन्ने विषयमा यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यसअघि रसुवाको टिमुरे बजारमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। बाढीले बजारका धेरै घर तथा संरचना बगाएको बताइएको छ।

बुधबार बिहान तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको थियो। बाढीपछि रसुवा हुँदै बग्ने भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको प्रभावलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन भनिएको छ। क्षतिको पूर्ण विवरण तथा प्रभावित प्रहरी कर्मचारीको अवस्थाबारे थप विवरण आउन बाँकी छ।